दैवज्ञ छैन आज
दिलमा सुवास भर्ने दैवज्ञ छैन आज
मुस्कान दिव्य छर्ने दैवज्ञ छैन आज
घरि प्रेम-गीत गाई घरि वीरता जगाई
सब दु:ख-दर्द हर्ने दैवज्ञ छैन आज
कविता सुनाउँदा होस् या दु:ख पाउँदा होस्
हाँसेर बोल्न पर्ने दैवज्ञ छैन आज
पर्दा विपत्ति भारी अरूलाई ढुक्क परी
आफैँ अगाडि सर्ने दैवज्ञ छैन आज
सम्झिरहन्छ वस्ती अब चल्छ कोकगोष्ठी
मृदु काव्य-गान गर्ने दैवज्ञ छैन आज।
२०६९ असोज १
गठ्ठाघर, भादगाउँ