कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

दैवज्ञराज न्यौपाने : सामाजिक क्षेत्रका अग्रणी

कुमार पोखरेल

दैवज्ञराज न्यौपानेको जन्म नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरमा भएको थियो । समय, उमेर र भूगोलका कारण हामीमा समानता नभए पनि न्यौपाने परिवारसँगको हाम्रो नातासम्बन्ध परापूर्वदेखि चल्दै आएको छ । म जन्मस्थान ओखलढुङ्गा जिल्लाबाट झापाको चन्द्रगढीमा बसोबास गरी त्यहाँ भएका उहाँका दाजुभाइ न्यौपाने बन्धुहरूसँगको नाता सम्बन्धका साथै पहाडी मूलका भएकोले प्रायः सबैसँग राम्रै परिचय भए पनि दैवज्ञराजसँग मेरो परिचय भएको थिएन । वि.सं.२०४२ सालमा युवावर्ष मोती पुरस्कार पाउने पहिलो व्यक्ति दैवज्ञराज न्यौपाने भएकाले उहाँसँग परिचय गर्ने मेरो उत्कट इच्छा रहरमा मात्र सीमित भइरहेको थियो । मेरो आफ्नो व्यक्तिगत सम्बन्धभित्र पर्नुहुने भए पनि टाढाको बसाइ भएपछि नियमित भेटघाट, आवतजावत र सहकार्य नहुँदा उहाँसँगको परिचय २०५८ पछि मात्र भएको थियो ।

जागिरे जीवनका क्रममा २०५४ सालमा काठमाडौंको बानेश्वरमा गृह निर्माण गरी बसे पनि यहाँको सामाजिक परिवेश, सहरिया व्यस्त जीवन, व्यक्तिवादी समाजको बहुलता, अव्यवस्थित बसोबास र अपरिचित सामाजिक संरचनाभित्र जकडिनु पर्दा म आपैँफ कष्टका साथ कुहिराको काग सरह भएर ५ वर्ष बिताउँदाको क्षण सम्भँफदा अहिले पनि तम्तमाइलो भएर आउँछ । कारण यहाँको सामाजिक वातावरण, मानवीय मूल्य मान्यताको शून्यतामा जीवन व्यतीत गर्नु भनेको कमण्डलु लिएर जङ्गल पसेको जस्तै भएको थियो ।

बाहिरी स्वच्छ वातावरण, सामान्य ग्रामीण परिवेशबाट आएर दिन बिताउनु पर्दा कति नरमाइलो हुन्छ जो सहजै अनुमान गर्न सकिन्छ । सामाजिक भावनाको बीजारोपण गर्दै चौतारी खोज्ने क्रममा भाँैतारिएर स्थानीय देउराली क्लब भवनमा भेला भएका यस क्षेत्रका प्रबुद्ध व्यक्तिहरूको जमघटबाट २०५८ सालमा बानेश्वरलाई एक सामाजिक संस्कारयुक्त बनाउने र विद्यमान व्यक्तिवादी भावनालाई सामाजिक एकता, सद्भाव, समन्वय र सहकार्य गर्ने पवित्र उद्देश्यले आपसी हितका विषयमा विचारको आदानप्रदान गरी म र मेरो भन्ने भावनालाई हामी र हाम्रो परिणत गर्ने महान् आकाङ्क्षा राखीे सामुदायिक विकास तथा सेवा समिति स्थापना भएको थियो । कवि एवं सामाजिक व्यक्तित्व दैवज्ञराज न्यौपानेसँग उक्त समितिको उपाध्यक्षको रूपमा भेट्ने र चिन्ने मौका मिलेको थियो । उहाँकी धर्मपत्नी श्री सुधा न्यौपानेसँग पनि नाता सम्बन्धको जालोमा बेरिएको हुँदा परिचय पछिका दिनहरूमा बाक्लो भेटघाट भएको र भेट हुँदा घर परिवारका बारेमा कुराकानी एवं नाता सम्बन्धको नालीबेली आदिबारे वार्तालाप हुने गर्दथ्यो । नातामा म उहाँको छोरो र नाति पर्ने कुरा स्वयं उहाँबाटै प्रट्याउनु भएकोले मैले उहाँलाई सम्बोधन गर्ने उपयुक्त वाक्य मेरो मानसपटलमा नपुफरेका कारण म उहाँलाई “दैवज्ञ सर” भनेर सम्बोधन गरी बोलाउने गर्दथेँ ।

जब उहाँसँग बसेर एउटै समिति अन्तर्गत काम गर्ने अवसर मिल्यो, विभिन्न सामुदायिक क्रियाकलापमा हाम्रो भेटघाट बाक्लिँदै गयो । सामाजिक विकास तथा सहकार्यको अवधारणा स्वरूप समग्र बानेश्वरको विकासलाई एकत्रित गरी बृहत् बानेश्वरको संज्ञा दिएर समाजलाई एक सूत्रमा बाँध्न सामाजिकीकरण गरी व्यक्तिवादी भावनालाई समाजवादी भावनामा रूपान्तरण गर्न र यस क्षेत्रका ढुङ्गेधाराको संरक्षण, सम्बर्द्धन, खानेपानी तथा ढलनिकासको उचित व्यवस्थापन, राती पाले पहराको व्यवस्था, सडक बत्तीको उचित प्रबन्ध, पार्क तथा अन्य मनोरञ्जनात्मक स्थान र चौतारीको व्यवस्था गरी स्थानीय वडा कार्यालय र यहाँ रहेभएका सामाजिक सङ्घ संस्थाहरूलाई एकत्रित गरियो । बानेश्वरको वृहत्तर विकास र विस्तारमा अधिकाधिक मात्रामा जनचेतना अभिवृद्धि गरी सहभागी गराउन उहाँले सुरुवात गर्नुभएको स्वास्थ्य तथा सरसफाइ, शिक्षा र जनचेतना, भौतिक विकास र सौन्दर्यवृद्धि एवं समग्र बानेश्वरको विकास भन्ने मूलभूत कुरालाई पूर्वाधार विकासको रूपमा अघि सार्नुहुने दूरद्रष्टा दैवज्ञराजको समाजसेवाप्रतिको योगदान अतुलनीय रहेको छ । बानेश्वरमा बसोबास गर्ने पुराना बासिन्दाहरू प्रायः अल्पसङ्ख्यामा रहेका र यहाँ देशका पचहत्तर जिल्लाबाट आई बसोबास गर्ने व्यक्तिहरूको बाहुल्य भएकाले उनीहरूको बीचमा एक आपसमा भाइचाराको सम्बन्ध विकास गरी समन्वय र सद्भाव कायम हुनुपर्छ भन्ने मान्यता र हामीले एक आपसमा भाइचाराको भावना जगाउन सके सामाजिक संरचनामा परिवर्तन ल्याउन सकिन्छ भन्ने कुरामा विश्वास राख्नुहुन्थ्यो उहाँ ।

हामी देशका विभिन्न क्षेत्र र वर्गबाट आई बसोबास गरेका कारण हाम्रो बानी, व्यवहारमा, आचारविचार र स्वभावमा फरक पर्नु कुनै अनौठो होइन, किनभने यहाँ कोही कसैको बाल्यसखा छैनौँ । सँगै बसेर डन्डी बियो, गुच्चा र भकुण्डो खेलेर समय बिताएका पनि होइनौँ । अर्मपर्म, एैँचोपैँचो, आगोपानी, घाँसदाउरा, गोठाला, खेताला आदिको सम्बन्ध नभएका कारण वल्लो घर पल्लो घरका परिवारसँग आवतजावत, बोलीचाली तथा सम्पर्क आदि नहुनु स्वाभाविकै हो । यहाँको विद्यमान अवस्थालाई नियाल्ने हो भने हामी आफ्नै घरमा बसेका भाडावाललाई पनि नामले चिन्न सक्दैनौँ कारण हामी र उनीहरूसँगको सम्बन्ध सिर्पफ घरवेटी र डेरावालमा मात्र सीमित रहेको छ । तसर्थ यस क्षेत्रमा जुन बेला जसले जे पनि गर्न सक्दछ । कोही कसैको मद्दतमा आउँदैन कारण हामीले हाम्रो सृजनात्मक मूल्य, मान्यता र परिवेशलाई गुमाइसकेका छौँ । यसले भोलिका हाम्रा सन्ततिलाई ठुलो समस्या आउन सक्छ । तसर्थ हामीले समयमा विचार गरेनौँ र सामाजिक भावनाको बीजारोपण गर्न सकेनौँ भने त्यसले विकराल रूप लिन सक्दछ । यस्ता समस्याको निराकरणको लागि आपैँफ अग्रसर भएर समाजलाई सामाजिक रूपमा परिवर्तन गराउन सक्नु पर्दछ । सामाजिक भावना जागृत गराउन, सामाजिक जनचेतनाको शङ्खनाद हामी स्वयं अग्रसर भै सञ्चालन गरेपछि मात्र हाम्रो टोल, सहर, बस्ती हुँदै समग्र राज्यको प्रगति र उत्थानमा टेवा पुग्दछ भन्ने विचारको प्रवर्द्धन गर्नुहुने प्रस्टवक्ता एवं विचारका धनी दैवज्ञराज न्यौपानेको समाजसेवाप्रतिको चिन्तन प्रशंसनीय थियो भन्ने कुरामा दुई मत हुन सक्दैन ।

बानेश्वरमा बसोबास गर्दा स्थानीय पञ्चकुमारी सामाजिक गुठीको सहसंयोजकमा रहेर साहित्य सृजनालाई केही समय विश्राम दिँदै उहाँले समितिको सक्रियतामा घरैपिच्छे गएर चन्दा सङ्कलन गरी पञ्चकुमारी भगवती परिसर नजिकै भवन निर्माणका लागि जग्गा खरीद गर्न पुर्‍याउनु भएको योगदान होस् वा उक्त जग्गाको भवन निर्माणका लागि वाचनशिरोमणि नारायणप्रसाद पोखरेलको वाचकत्वमा सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञबाट अर्थ सङ्कलन गरी बानेश्वर पञ्चकुमारी सामुदायिक नामक भवन निर्माणमा होस् उहाँको विशिष्ठ योगदान रहेको छ ।

पञ्चकुमारी सामुदायिक भवनको साथै स्थानीय मीनभवन खानेपानी नजिक ढुङ्गेधारा किरियापुत्री भवनको लागि सल्लाहकार भएर पनि समाजको सेवा गर्न सदैव तत्पर रहनुहुन्थ्यो । बानेश्वरको बसाइ, पेसाले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा प्राध्यापकका रूपमा अध्यापन, बढ्दो सहरीकरण, अव्यवस्थित सडकसञ्जाल, प्रचुर सङ्ख्याका सवारी साधन, खस्कदो ट्राफिक व्यवस्थापनका कारण १० कि.मी. बाटो पार गर्न जाम भएर निर्दिष्ट स्थानमा पुग्न करिब एक डेढ घण्टा लाग्ने अवस्थामा बानेश्वरबाट कीर्तिपुर जानुपर्ने दैनिकी भए पनि उहाँ प्रायः सबै सामाजिक संस्थामा उपस्थित हुनुहुन्थ्यो ।

सामाजिक क्षेत्रमा उहाँले पुर्‍याउनु भएको योगदानको चर्चा परिचर्चा गर्दा एउटा सिङ्गो उपन्यास वा कथा बन्छ । ती सबैको चर्चा गरी साध्य पनि छैन । मुख्यतः उहाँबाट संयोजित हिजो, आज र भोलिको बानेश्वरका बारेमा बृहत् अन्तरक्रिया कार्यक्रम गरिएको थियो । जसमा विभिन्न क्षेत्रका विद्वान् वर्गलाई कार्यपत्र प्रस्तुतिका लागि अनुरोध गरिएको थियो । संस्कृतिविद् डा.गोविन्द टण्डन लगायतका वक्ताहरूले बानेश्वरको इतिवृत्त दिँदै बृहत् कार्यक्रमको आयोजना गरी भोलिको बानेश्वरको परिकल्पना उहाँकै सक्रियतामा गरिएको थियो । त्यसको निरन्तरता स्वरूप समाजको विकासमा समुदाय र शैक्षिक संस्थाको भूमिका विषयक अन्तरक्रिया गोष्ठी गरी शिक्षा क्षेत्रका विद्वान् व्यक्तित्वबाट कार्यपत्र समेत प्रस्तुत गरी बानेश्वरमा रहेभएका विद्यालय तथा महाविद्यालयका प्राचार्य, विद्वत्वर्ग, समाजसेवी, प्रशासक आदि समेतको सहभागिता रहेको उक्त कार्यक्रम दैवज्ञराजकै संयोजकत्वमा सम्पन्न भएको थियो जुन बानेश्वर क्षेत्रका बासिन्दाहरूको लागि अभूतपूर्व जनचेतनाको कडी थियो भन्नमा अत्युक्ति हुँदैन ।

प्राज्ञिक क्षेत्रका विद्वान् भएका कारण समाजलाई बुद्धिमत्तापूर्ण तरीकाले रूपान्तरण र परिवर्तन क्रमशः गराउँदै लैजानु पर्दछ भन्ने मान्यता राख्नुहुने दूरद्रष्टा, शालीन व्यक्तित्वका धनी, कर्तव्य परायण, दृढनिश्चयी एवं लगनशील, साहित्यकार दैवज्ञराजको भाषाप्रतिको एउटा उदाहरण प्रस्तुत गर्नु सान्दर्भिक ठान्दछु । दैवज्ञराज न्यौपानेले साहित्यिक क्षेत्रमा प्राप्त गरेको २०४२ सालको युवावर्ष मोती पुरस्कार मेरो मानसपटलमा ताजै थियो । पहिलो भेटमा उहाँलाई देख्दा मैले कल्पना गरेको पुरस्कृत व्यक्तिभन्दा पृथक् रूप अर्थात् अन्यन्त सुन्दर, स्वस्थ, जाँगरिला, साहसी, कर्मठ, आकर्षक शारीरिक बनोट, फरासिला, मधुरबोली, हँसिला व्यक्तित्वको रूपमा पाउँदा कुनै अलौकिक मानवसँग भेटेजस्तो अनुभव गरेको थिएँ । उहाँको साहित्यिक लगाव भाषाप्रतिको पूर्णताको उपयोग मैले पनि गर्ने अवसर पाएकोमा उहाँप्रति साधुभाव अर्पण गर्दछु ।

मेरो पेसागत कार्यक्षेत्र सरकारी सेवा सिँचाइ विभाग हो । सिँचाइ विभागको विधिवत् स्थापना वि.सं. २००९ सालमा भएको आँकडा रहेको छ । यसले आफ्नो स्वर्ण महोत्सव पूर्वका दिनसम्म सिँचाइको “इ” दीर्घ ईकारमा लेख्दै आएको थियो । तत्कालीन श्री ५ को सरकारको विभिन्न निकायमा नेपालीभाषी विद्वान्हरूको कहिल्यै पनि कमी थिएन र छैन पनि । नेपालजस्तो कृषिप्रधान देशमा कृषिको पूर्वाधार नै सिँचाइको मूल आधार मानेर ७५ वटै जिल्लामा कार्यालय स्थापना भएको र प्रत्येकमा सिँचाइको नाम उल्लेख गरी साइनबोर्ड टाँगिएको हुन्थ्यो । त्यसमा सिँचाइको “इ” दीर्घ लेखिएको ५० वर्षसम्म कुनै भाषाविद्, भाषाशास्त्री, पत्रकार, विद्वान् आदि कसैले औँल्याउन नसकेको कुरा दैवज्ञराज न्यौपानेले ५० वर्ष मनाउने क्रममा निर्मित स्वर्णजयन्ती स्तम्भमा लेखिने सिँचाइ महोत्सवको “इ” दीर्घ नभएर ह्रस्व हुन्छ भनी दिनुभएको अभिव्यक्तिलाई मैले प्रस्तुत गरी तालुक एवं मातहतमा समेत भाषाविद्हरूसँगको छलफल र निर्णयपश्चात् ह्रस्व लेखिएको थियो । स्थापनाको ५० वर्षपछि सँच्चिएको भाषाको प्रयोग गर्न सम्पूर्ण सङ्गठनलाई धेरै मिहिनेत गर्नुपर्‍यो । सिँचाइसँग सम्बन्धित दस्तावेजहरूमा भाषागत त्रुटि भए पनि अन्तमा दैवज्ञराजले औँल्याइदिनु भएको सिँचाइको “इ” ह्रस्व लेखी भाषागत शुद्धताको अनुसरण गर्न दिनुभएको अमूल्य योगदान अविस्मरणीय रहेको छ ।

जीवनको उत्तरार्धमा उच्च रक्तचाप, मधुमेह र पक्षाघातको कारण उहाँको दिनचर्या निकै कष्टपूर्ण तरिकाले बित्यो । उहाँको समाजसेवाप्रतिको योगदानलाई हृदयङ्गम गरी पञ्चकुमारी सामाजिक गुठीले राष्ट्रपतिबाट अभिनन्दन तथा समाजसेवीहरूबाट स्वास्थ्योपचार कोषको व्यवस्था गरी उहाँलाई छिमेकी राष्ट्र भारतको दिल्लीसम्म उपचारको व्यवस्था गरिएको थियो । पक्षाघातका कारण सामान्य हिँडडुल गर्न, लेखपढ गर्न र बोल्न पनि ज्यादै कठिन अवस्था थियो । कविको कविता वाचन र लेखनमा बाधा पुग्नु विधिको विडम्बना हो । जे भए पनि हामीले चुप लागेर सहन गर्नु सिवाय अरू के नै गर्न सकिन्छ र ? यस्ता महान् सामाजिक व्यक्ति साहित्यकार एवं कविलाई पनि मृत्युको चिसो कोक्रामा सुत्न विवश भई अनन्तनिद्रामा पुग्नुपर्‍यो ।

अन्त्यमा, समाजमा यस्ता व्यक्तिहरूले पटकपटक जन्म लिई आफ्नो टोल, गाउँ, समाज र समग्र राष्ट्रको मात्र नभएर अन्तर्राष्ट्रिय जगत्मा समेत विशेष योगदान दिन सकून् भन्ने अभिलाषा राख्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु ।

यो धर्तीमा समय रहँदै बीज राम्रो नरोपे

यो माटामा अमर रहने प्रीति चोखो नरोपे

स्थायी बन्ने चिर दिन यहाँ हैन हाम्रो जवानी

'हाँसी खेली दुइ दिन कहाँ जान्छ यो जिन्दगानी ?'

दैवज्ञराज न्यौपाने

'कहाँ जान्छ यो जिन्दगानी ?'