कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

स्मृतिका पानाभित्र दैवज्ञराज न्यौपाने

कुलप्रसाद पराजुली

वि.सं. २०३१ सालमा भारतको श्री सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसीमा साहित्याचार्यको अध्ययन गर्दै थिएँ । घरायसी कारणले जागिर खानुपर्ने परिस्थिति सृजना भयो । मेरो जन्मभूमि भोजपुर जिल्ला वासिङ्थर्पु गाउँ विकास समितिको छिमेकी बालंखा गाउँ विकास समिति अन्तर्गतको महासिंहदेवी प्राथमिक विद्यालय, हाल श्री चण्डेश्वरी उच्च माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा काम गर्न थालेँ । कामको सिलसिलामा जिल्ला शिक्षा कार्यालय भोजपुर जानेआउने क्रममा भोजपुर सदरमुकामबाट पश्चिमतर्फ अवस्थित गोगने क्षेत्रलाई सर्वप्रथम परैबाट देख्ने, सुन्ने र चिन्ने अवसर मैंले पाएको हुँ ।

अपेक्षाकृत अलि अग्लो डाँडामा अवस्थित सेतो मन्दिर, लगभग दक्षिणपश्चिमतर्फ फर्केको भूबनोट, ठाउँठाउँमा हरियाली छ । मन्दिरभन्दा तलतिर न्यौपाने परिवारका केही घरहरूको बस्ती र खेतबारी देख्न सकिन्छ । केही तल विशाल वटबृक्षमुनि लिउन नहानेको प्रत्येक तलामा पाँचपाँच कोठाको दुईतले श्री विद्येश्वर निम्न माध्यमिक विद्यालयको भवन छ । विद्यालयको दक्षिणपश्चिमतर्फ लमतन्न परेको मध्यम स्तरको खेलमैदान छ । त्यसभन्दा पनि तल दक्षिणतर्फ सलक्क परी लम्केको खान्टाङ डाँडाको दुवैतर्फ विशाल खेत, त्यसभन्दा तल मटैलो एवं मलिलो सल्लेनी गाउँमा नेपाल ब्राह्मणहरूको आधिक्य भएको बस्ती छ । बस्तीमुनि उत्पादनशील धानखेत, सन्तोला, कागती, अम्बा र निबुवाका सुन्दर बगैंचा, उत्तरदिशावर्ती प्रसिद्ध ठाउँ पान्धारे र लेखर्कको बस्तीको फेदीस्थित गोगने र लेखर्क गा.वि.स.को अंग काभ्रे गाउँको रमणीय बस्ती छ । त्यस बस्तीका छिमेकी ढुंगे, ओखरबोटे र कट्टी गाउँहरूको तल्लो भाग स्पर्श गर्दै कलकल आवाज निकालेर पूर्वदक्षिण बग्ने सिक्तेल खोलाको आंशिक रसिलो भूभागको दृश्य देखेर मेरो मन कल्पिन्थ्यो । विश्वप्रसिद्ध संस्कृत काव्यकार कालीदासका काव्यले उद्घोष गरेको ...प्रमाणमन्तः करण प्रभृत्तयः (अन्तस्करणका क्रियाकलापले मानिसका प्रवृत्ति बताउँछन्) भन्ने वाक्यांशको आशयले मेरो भाग्य तथा नियतिलाई त्यतिबेलै संकेत गरिसकेको बोध त्यसबेला मलाई भयो, जब जिल्ला शिक्षा कार्यालय भोजपुरले लिएको शिक्षा सेवा आयोगको परीक्षामा सफल भएर वि.सं.२०३२ पुसमा श्री विद्येश्वर नि.मा.वि.गोगनेको सहायक शिक्षक र कालान्तरमा सोही विद्यालयको प्रधानाध्यापक समेत भएर गोगनेको भूमि सर्वप्रथम स्पर्श गर्न पाएँ ।

जुन भूमि र परिवेशमा जान्थेँ, त्यस भेकको वातावरण, उत्पादन, राजनीतिक, आर्थिक, सामाजिक, साहित्यिक, शैक्षिक एवं सांस्कृतिक परिवेशका साथै राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्तित्वबारे चासो राख्ने मेरो सानैदेखिको आनीबानी थियो । त्यस भेकका ओखरबोटे, कट्टी र काभ्रे गाउँका मानिस परम्परागत कृषि पेसामा लागेका थिए । सल्लेनीका नेपाल ब्राह्मणहरूको शैक्षिक, सामाजिक स्थिति अपेक्षाकृत अलि माथि उठेको र ब्रह्मवृत्तिमा लागेकाले पनि आर्थिक सक्षमता पाएँ । सल्लेनीभन्दा माथिल्लो भूभाग गोगनेका न्यौपाने ब्राह्मण परिवारको शैक्षिक, सामाजिक, सांस्कृतिक र रोजगारीका साथै चेतना एवं सामाजिक प्रतिष्ठाको स्थिति निकै माथि रहेको पनि मलाई बोध भयो । जसको एउटा कारण प्रत्यक्ष रूपमा गोगनेकै न्यौपाने ब्राह्मणहरू श्री नीलकण्ठ न्यौपाने, श्री पुरुषोत्तम न्यौपाने र श्री सीताराम न्यौपाने शिक्षकको नियुक्ति लिएर मेरो जन्मभूमि वासिङ्थर्पु गा.वि.स.को तत्कालीन श्री भवानी राष्ट्रिय प्राइमरी स्कुलमा शिक्षण गर्न वि.सं. २०१७ सालमा जाँदा नै त्यहाँका ब्राह्मणहरूको स्तर हामीलाई केही थाहा भइसकेको थियो । पछिल्ला अवसरमा उहाँहरू हाम्रा घरमा समेत डेरा गरी बस्ता मलाई पनि अक्षर चिनाई शिक्षा दिएको प्रभाव पनि मलाई परेको थियो । भोजपुर, भुल्केका स्वर्गीय चिन्तामणि भट्टराईकी साइली छोरी मेरी आमा सरस्वती पराजुलीका मावली पनि गोगने धाइपा निवासी स्वर्गीय लोकनाथ न्यौपानेको पारिवारिक घर हुनुका साथै गोगनेकै स्व.घनप्रसाद न्यौपाने प्रहरीका हवल्दार भएर जागिरको क्रममा हाम्रंा गाउँघरतिर जानुभएका घटनाहरूबाट पनि हामी गोगनेको वातावरणसित आंशिक सुपरिचित भएका कारणले पनि गोगनेको शिक्षा, संस्कार र चेतनाप्रति मेरो आकर्षण, आस्था, विश्वास, आशा एवं भरोसा अलि बढी थियो ।

वि.सं २०३२ मा गोगनेमा शिक्षक भएर गएपश्चात् नयाँ माष्टर आए अरे भन्दै गा.वि.स.का विभिन्न भागबाट मानिसहरू विद्यालयमा आउने क्रम बढ्यो । गाउँघरमा नयाँ मानिस जाँदा प्रायः यस्तै हुन्छ । यसै क्रममा एक दिन एकजना अलि परिपक्व मानिस पनि आए मेरो कार्यकक्षमा । मध्यम कद, निधारमा त्रिपुण्ड लगाएका धोती र दौराको सेतो, सरल र स्वच्छ पहिरन, अलि नमिलेका छिचरा सेता दन्तपंक्तिका ती व्यक्तिसित परिचय अगाडि बढेपछि थाहा पाएँ उनी त श्री जयप्रसाद न्यौपाने रहेछन् जो प्रा.दैवज्ञराज न्यौपानेका दाजु हुन् । उनले कुरैकुराको क्रममा भने– मेरो घर धाइपा हो । दैवज्ञको नाम सुनेका छौं ? केदारको नाउँ पनि सुनेकै हौला ? तिमी त हामै्र न्यौपानेका भाञ्जा पो रहेछौ । केटाकेटी राम्रो पढाउनू, मेरा पनि छोरी सीता र लक्ष्मी यही पढ्छन् आदि ।

यी र यस्तै भेटघाट र प्रसंगहरूले दैवज्ञराज न्यौपाने अप्रत्यक्ष रूपमा सर्वप्रथम मेरो परिचयमा आएका हुन् । भोजपुर भुल्केका श्री तीर्थप्रसाद भट्टराई, सल्यानीका रेवतीप्रसाद र हरिप्रसाद नेपाल, दधिपुरका जगदीश नेपाल र गोगनेका श्री दैवज्ञराज, केदार, वासुदेव, टीकाप्रसाद र लोमश न्यौपाने, कटुजेका श्री पूर्णप्रसाद र देवीप्रसाद नेपाल त्यस क्षेत्रका धेरै व्यक्तिले नाम लिइरहने व्यक्तित्वहरू थिए । म गोगनेमा शिक्षण गर्न थालेपछि श्री घनप्रसाद, पुरुषोत्तम, पितृप्रसाद र परशुराम न्यौपाने लगायतका न्यौपाने परिवार, काभे्रका श्री दाताराम घिमिरे, ओखरबोटेका श्री गोविन्दप्रसाद लुइँटेल, श्री भवनाथ तिम्सिना र सल्लेनीका श्री लोकनाथ र हरिप्रसाद नेपाल आदिबाट पनि बेलाप्रसंगमा श्री दैवज्ञराज न्यौपानेको नाम सुन्दै आएको थिएँ । त्यहाँ गएपछि सो क्रम अझ दोहोरिँदै तेहरिँदै गयो । तर, राम्रो वस्तुको प्राप्ति र सरसंगत ढिलै हुने संसारको क्रम नौलो नभएकाले न्यौपाने सरलाई प्रत्यक्ष देख्ने र भेट्ने अवसर भने अलि ढिलै भयो ।

संयोगको कुरा हो त्रि.वि.मा प्राध्यापनरत श्री केदार न्यौपाने त्रि.वि.अन्तर्गतको भोजपुर क्याम्पस वा विद्यालयहरूको निरीक्षण वा घरायसी कामविशेषले हो ? आफ्नो जन्मभूमि गोगने आउनुभएको थाहा पाएँ । विद्यालयमा आउन निम्तो दिएँ वा आफैँ आउनुभयो मलाई याद छैन । तर, म कार्यरत श्री विद्येश्वर निम्न माध्यमिक विद्यालयमा केही अरू साथीहरूका साथ आउनुभएका श्री केदार न्यौपानेको औपचारिक स्वागत गरेर सभाको पनि आयोजना गरी केही अभिव्यक्ति पनि दिन लगाएको घटना चाहिँ अझै ताजा छ मेरो मनमस्तिष्कमा । त्यस अवसरमा पनि श्री दैवज्ञराज न्यौपानेको नाम र सुवासको संक्षिप्त परिचय र चर्चा भएकै हो । त्यतिबेला गाउँघरमा आजको जस्तो आमसञ्चारको माध्यम थिएन । रेडियो एक मात्र प्रभावकारी सञ्चार माध्यम थियो । म रेडियोको निकै सौखिन थिएँ र छु पनि । गोगनेकै ओखरबोटे गाउँमा मेरो डेरा थियो । तिनताका म स्वयंपाक्के थिएँ । भात पकाउँदै अध्ययन गर्दै वा विभिन्न काम गर्दागर्दै रेडियो सुनिरहन्थें । दैवज्ञराज न्यौपानेको परिचय, चर्चा परिचर्चा वा उनका गीत, कविता रेडियोबाट बजिरहँदाका अबका दिनहरूमा निकै ध्यान दिएर दैवज्ञराज र उनको लोलीबोलीबारे थाहा पाउने कोसिस गर्थंें ।

अध्ययनमा मेरो खुब रुचि थियो जो यथावत् छ । नेपालमा काम गर्दै बनारसबाट आचार्यको परीक्षा दिने गथँे । सन् १९७८ (वि.सं.२०३४/०३५) मा आचार्य तेस्रो वर्षको परीक्षा सकेर गोगनेमा काम गर्न आउँदा मेरो सरुवा गोगनेबाट श्री वीरेन्द्र निम्न माध्यमिक विद्यालय होमताङ, हतुवा, भोजपुरमा भएको पत्र पाएपछि गोगनेमा रमिराखेको मेरो मन जागिरको सरुवाले हचकचियो र बहकियो पनि जसलाई म स्वाभाविक मान्छु, बुझनेले पनि त्यसै भन्लान् । तिनताका असार साउनमा छुट्टी हुन्थ्यो विद्यालयमा । असारको छुट्टीमा घरमा गएर खेतमा आली लगाउने जस्ता महत्त्वपूर्ण कृषिकर्ममा नलागी बीच बाटैबाट काठमाडौँ आउने इच्छाले अभिप्रेरित भएर असार ६ गते जीवनमा सर्वप्रथम काठमाडौँका लागि प्रस्थान गरें । साथीहरूमा श्री तारानाथ, धरणी लुइँटेल र देवराज तिम्सिना आदि थिए । मित्र तारानाथका मामाहरू श्री विश्वनाथ र भवनाथ न्यौपाने नेपाल राष्ट्र बैंक काठमाडौँको थापाथलीमा काम गर्थे । ताराजी मार्फत उनीहरूसँगै परिचय भयो । आवतजावत र सरसल्लाह पनि बढ्न थाल्यो ।

रोजगारी र पढाइको खोजीमा निस्किएका हामी भोजपुरबाट काठमाडौँ आएर बसेका जोकोहीसँग पनि हेलमेल बढाउन चाहन्थ्यौं । त्यसमा पनि भोजपुरका प्रसिद्ध ठाउँमध्ये दिङ्लापछिको दोस्रो विद्या र शिक्षाको केन्द्र गोगनेबाट आएका हामीले दैवज्ञराज र केदार न्यौपाने आदिको नाम र सुवास सुनेकै थियौं र भेट गर्न लालायित पनि थियौं । तिनताका उहाँहरू बबरमहलमा डेरा गरी बस्नुहुँदो रहेछ । हाम्रो डेरा कुपन्डोलको हनुमान स्थानमा एकजना श्रेष्ठका घरमा थियो । हिँडेरै बबरमहल आउथ्यौं जहाँ दैवज्ञराज न्यौपानेसित सर्वप्रथम प्रत्यक्ष रूपमा भेटघाट, परिचय र क्षेमकुशल आदानप्रदान भइरहेको थियो । तिथिमितिको सम्झना छैन । रहँदै बस्तै जाँदा म फर्केर भोजपुरको शिक्षण पेसामा नजाने भएँ ।

पहिले इतिहास र पछि नेपाली विषय लिएर त्रि.वि.मा भर्ना भई एम.ए. पढ्ने रहर जाग्यो । प्रा.दैवज्ञराज न्यौपानेसँग पनि सरसल्लाह हुँदा पढ्ने हौसला दिनुभयो । रोजगारी पनि खोज्ने क्रममा कुपण्डोल ललितपुर निवासी श्री राजेन्द्रपुरुष ढकालको ठुलो सहयोगबाट म निर्माण तथा यातायात मन्त्रालयमा अस्थायी ना.सु. को जागिर खान पुगें । न्यौपाने सरको डेरा र मेरो कार्यालय पनि बबरमहल भएकोले झन् सजिलो भयो भेटघाटमा । हामी अझ नजिकियौँ । किन पढ्ने मनस्थिति बदल्नुभयो ? भन्नुहुन्थ्यो । म परिस्थिति बताएर छुट्थेँ । रहँदै बस्तै जाँदा ०३५ को अन्ततिर त्रि.वि.अन्तर्गतको नेपाल कमर्स क्याम्पस मीनभवनमा स्थायी हेड अशिष्टेन्ट पदको विज्ञापन निस्कियो । दरखास्त दिने क्रममा त्रि.वि.बारे जानकारी लिन श्री दैवज्ञ सरसित गइरहन्थंँे । उहाँले मीनभवनमा प्राध्यापन गर्ने श्री चूडाराज उप्रेतीसित सामान्य परिचय गराइदिनुभयो र भन्नुभयो उहाँलाई राम्ररी पक्रनू । श्री चूडाराज सरसित सम्पर्क बढाउन साथी तारानाथ लुइँटेलका ठुल्यामाका छोरा हाल न्यायाधीश श्री मोहनप्रसाद घिमिरेसित सम्पर्क बढाई आफ्नो काम अगाडि बढायौं । उहाँहरू साथीसाथी हुनुहुन्थ्यो । घिमिरे र उप्रेती सरको राम्रो सहयोग पनि हामीले पायौं । ढिलै भए पनि उहाँहरू दुवैलाई मुरीमुरी साधुवाद । परीक्षाको नतिजा आउँदा म हेड अशिष्टेन्ट र ताराजी सहलेखापालमा उत्तीर्ण भएर मीनभवनमा जागिरे भयौं ।

अबका दिनमा श्री दैवज्ञराज सरले बानेश्वरमा घर किनिसक्नुभएको थियो । हामी पनि बानेश्वर हालको अन्तरराष्ट्रिय सम्मेलन केन्द्र तत्काल शाही नेपाली सैनिकको व्यारेक अगाडि श्री महेन्द्रबहादुर थापाको घरमा डेरा सर्‍यौं । ०३६ वैशाख १८ गतेदेखि मीनभवन क्याम्पसमा स्थायी जगिर खान थालेपछि नेपाली एम.ए.को प्राइभेट परीक्षामा सामेल हुने इच्छा र परिस्थिति सृजना भयो । दैवज्ञ सरकै प्रेरणा, सल्लाह, आँट र भरोसा समेत सँगालेर एम.ए.को फारम भरेँ । पढाइका क्रममा अझ नजिकिन पाएँ दैवज्ञ सरसित । नेपाली विषयका भिन्नभिन्न पक्षमा सोधी खोजी गर्ने क्रममा मेरा केही घण्टा उहाँसित बित्न थाले ।

अग्लो, गोरो, हँसिलो, रसिलो चौडा सलक्क परेको अनुहार । प्रायजसो रेडीको खास्टो वा च्यादर आधा ओढी टम्म पलेटी मारेर खाटमा अटल रूपमा पटल बाँधेर बसी केही पढिराख्ने वा लेखिराख्ने, सोचिराख्ने, गुनगुनाइराख्ने वा कुनै न कुनै मानिससित केही छलफल गरिराख्ने बानी थियो उहाँको । एउटा कर्मयोगी, अध्ययनशील, चिन्तनशील र सामाजिक संलग्नताको बानीका धनी उहाँको व्यक्तित्व आकर्षक थियो । अलिकति फुर्सदिलो समय र साँझ बिहान घुम्न र सामाजिक कार्यमा रुचि राख्ने उहाँ मैंले सोधेका प्रश्न सूत्रात्मक रूपमा बुझिने गरी बताउनुहुन्थ्यो । उहाँका उत्तर भावात्मक, साहित्यिक र दार्शनिक तर सटीक हुने गर्थे । ख्यालठट्टा तथा जिस्किनुपर्‍यो भने च्याप्प पक्रिएर केही आफूतिर तानी कानमा खुसुक्क भन्नुहुन्थ्यो जो निकै रोचक, व्यङ्ग्यात्मक र घोचक तथा आकर्षक लाग्थे ।

वि.सं.२०३८ सालमा नेपाली एम.ए.उत्तीर्ण गरेपछि त्रि.वि.बाट प्रकाशित नेपाली विषयको सहायक प्राध्यापक पदको २०३९ सालको परीक्षाको तयारीमा जुट्ता पनि उहाँ नै मेरो स्रोतव्यक्ति हुनुभयो । लिखितमा उत्तीर्ण भए पनि अन्तर्वार्ताले मलाई धोका दियो । ०३८ फागुन १ गतेदेखि त्रि.वि.कै सहायक प्रशासक पदको स्थायी जागिरे भइसके पनि प्राध्यापन कार्यमा नै मेरो विशेष रुचि थियो । २०४४ को त्रि.वि.को विज्ञापनमा सहायक प्राध्यापकको जाँचको तयारी गर्दा समेत दैवज्ञ सरसित थुप्रै प्राज्ञिक सहयोग पाएँ । जानेको कुरा झर्को नमानी बताउने बानी र क्षमताका धनी हुनुहुन्थ्यो उहाँ । त्यो परीक्षाको नतिजा निस्कन ढिलै भयो । यस बीचमा म जागिरमा अलि अस्थिर भएँ । जनक शिक्षा सामग्री केन्द्रको अधिकृतमा प्रतीक्षा सूचीमा नाम प्रकाशित भयो । लोक सेवा आयोगको प्राविधिक अधिकृत पदमा उत्तीर्ण भएर राष्ट्रिय अभिलेखालयमा जागिर खान त्रिभुवन विश्वविद्यालयको ११ बर्से स्थायी जागिर छोडेर जान लाग्दा समयको बर्बादी किन गर्नुहुन्छ, त्यहाँ गएर तपाइँ के गर्नहुन्छ ? सोचेर मात्र जानुहोस् भन्नुभयो । आखिर मंसिरमा प्रवेश गरेको सरकारी अधिकृतको स्थायी जागिर माघमा छोडेर नेपाल विद्युत् प्राधिकरणको स्थायी अधिकृत पदमा जागिरे भएर जाँदा पनि धेरै डुल्नुभयो, त्यो पनि इन्जिनियरहरूको प्राविधिक जागिरे अड्डा हो त्यहाँ गएर पनि के गर्नुहोला र ? उन्नति हुन्छ भने सोचेर मात्र जानुहोस् भन्नुभयो ।

जीविका चलाउन यसै बीचमा मैले खुद्रंा व्यापार गर्न पनि थालेँ । अब यो पनि छोडिहाल्ने त होइन होला नि ? दिगो होला के त ? भन्नुभएको थियो । आखिर लगभग ३ वर्षपछि त्यो व्यापार पनि छोडेँ । वि.सं.२०४७ सालपछि त्रि.वि.को सहायक प्राध्यापक पदको नतिजा निस्कियो । मेरो पदस्थापना महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरमा भएको थियो । त्यसबेला श्री न्यौपाने सर त्रि.वि.को सहप्राध्यापक पदमा कार्यरत हुनुभएकाले उहाँले मेरो सफलता थाहा नपाउने कुरै भएन । मेरो दोकान भएको बानेश्वर संगम चोककै बाटो प्रातःभ्रमणमा निस्कनुहुन्थ्यो न्यौपाने सर । मसित भेट भयो । बधाई पनि दिनुभयो र भन्नुभयो जाँच सबैतिर दिने र पास पनि गर्ने, एकजना साथीको सिट सधै्रं हर्ने तर एक ठाउँमा नअडिने के फेरि पनि त्रि.वि.मा फर्किएर आउने कि ? धेरै चञ्चल नहुनुहोस् पछि पछुताउनु पर्ला...... ।

काव्यवाचन गर्दा प्रायः शार्दूलविक्रीडित छन्दलाई लामो भाका, सुरिलो एवं रमाइलो पाराले अभिव्यक्त गर्न र अनुष्टुप् छन्दलाई बडो भावुकतापूर्वक वाचन गरेर श्रोता र पाठकलाई ज्यादै सुनाँै सुनौंंँ गराएर आफू पनि रमाउने प्राध्यापक दैवज्ञराज न्यौपानेसित ०४७ सालमा बानेश्वर क्याम्पसको स्थापनापछि हाम्रो बसउठ अझ बाक्लियो । उहाँका साख्खै भाइ श्री केदार न्यापानेको संस्थापक क्याम्पस प्रमुखत्व र दैवज्ञराजले समाल्नुभएको नेपाली विभाग अन्तर्गत आंशिक रूपमा नेपाली विषयको प्राध्यापन गर्न थालेपछि उहाँसितको मेरो सान्निध्य अझ झाङ्गियो । यसपछि व्यावहारिक जीवनका अनेक पक्षमा उहाँसँगका सहकार्यका थप रोचकता दर्सिन्थे । भानुजयन्तीका कार्यक्रम, पञ्चकुमारी सामाजिक गुठीका कार्यक्रम, भोजपुरे सेवा समाजमा उहाँ अध्यक्ष हुँदा वा म अध्यक्ष हुँदाका तमाम अवसरमा उहाँसित थुप्रै औपचारिक वा अनौपचारिक अन्तरक्रियाहरू हुन्थे ।

उहाँसितका स्मरणीय थप घटनाहरूमध्ये पाटन संयुक्त क्याम्पसमा संस्कृत विषयको सहायक प्राध्यापक पदको विज्ञापनमा दरखास्त राख्ने उद्देश्यले सोधी खोजी गर्दा हुँदैन, दरखास्त नहाले हुन्छ, किन दुःख पाउनुहुन्छ ? भनी स्पष्ट पार्नुभयो । तत्काल उहाँ आफैं क्याम्पस प्रमुख भएको अवस्थाको उहाँको यो भनाइ मलाई त्यति पाच्य त भएन । तर, समय बित्तै जाँदा उहाँको सो भनाइ प्रष्ट हुँदै गयो । श्री शरच्चन्द्र वस्तीजी सो जागिरमा जानुभयो । समयले सबै कुरा पचाउँदो रहेछ । एकपटकको कुरा हो बानेश्वर क्याम्पसको मुखपत्र रजहाँसको सम्पादन/प्रकाशन गर्दा उहाँको नाम जुनियर प्राध्यापकभन्दा तल प्रकाशित भएछ । पत्रिका प्रकाशित भएर आएपछि उहाँले च्याति नै दिनुभयो र भन्नु पनि भयो, च्यात्ने मात्र होइन म आगो नै लगाइदिन्छु ......। सम्झनै पर्ने अर्को पक्ष पनि छ । उहाँकी धर्मपत्नी रीता न्यौपाने लामो समयदेखि निकै सिकिस्त बिमार हुनुहुन्थ्यो । उहाँसित पनि मेरो चिनजान पहिलेदेखि राम्रै थियो । त्रि.वि.को स्थायी सहायक प्रशासक (त्रिवि सेवा अधिकृत)को परीक्षामा हामी दुवै कार्यरत भएकोले मेरा र उहाँका बीच बारम्बार विभिन्न छलफल भइरहन्थे । उहाँसित निकै घनिष्ठता नै थियो । सिकिस्त बिरामीलाई हेर्न प्रायः म गइरहन्थँे । घरमा म पुग्दा न्यौपाने सर प्रायः बिरामीको दिसा–पिसाप बडो सावधानी र धैर्यका साथ सफा गरिरहनुभएको हुन्थ्यो । ती अवसरमा उहँामा कुनै घिन र झर्कोको आभास पनि मैले पाइँन । एकछिनपछिका हामी दुईजनाबीच चल्ने छलफलका प्रसंगमा भन्नुहुन्थ्यो– प्रारब्ध र संयोगको कुरा हा,े घिन मानेर र अल्छी मानेर के गर्नुहुन्छ ? हामीलाई आइपरेको गर्दिन र भोग्दिन भनेर धर पाइँदैन । यही नै जीवन हो बुझनु भो ? यो पनि कर्तव्यभित्रै पर्छ ....।

अर्को पक्ष पनि छ– दैवज्ञराज न्यौपानेको बानी व्यहोराको । त्यो प्रसंग हो जीवनको उच्च सोचाइ र साधारण लवाइ खवाइको । एकपटक दसैँमा काठमाडौबाट भोजपुर घर जाँदा सँगै गइयो । उदयपुरको बाटो बेलटार हुँदै भोजपुर दक्षिणी भागमा प्रसिद्धि पाएको बुआँखोलाको बाटो गयौं । बाटामा ठुलो पानी परेको कारण ताकेको ठाउँमा बास बस्न पुग्न सकिएन । राति ओडारको बास पर्‍यो । नजिकमा राईको एउटा मात्र घर थियो । हामीसित खाने कुरा पनि त्यति थिएन । भिजेर गएका थियौँ । राति भोक लाग्यो । बल्लतल्ल गुन्द्रुकमा पानी हालेर केही सातु र केही केराका कोसा खाएर जेनतेन रात बितायौँ । खोलो तर्ने क्रममा मलाई र मेरी एक मात्र सानी छोरी कजन पराजुलीलाई झन्नै बगायो । बल्लतल्ल उहाँले तानेर हामीलाई बचाउनुभयो र भन्नुभयो नदीनां शस्त्रपाणीनां नखीनां शंृगीणां तथा.......नदीको, शस्त्र हातमा लिएका व्यक्तिको र नङ भएका जनावरको विश्वास झट्ट नगर्नू भन्ने बिर्सनुभयो ? भन्नुभयो । लवाइखवाइ प्रायः सादा मन पराउने दैवज्ञ सरले आइरन लगाएर लगाउनै पर्छ भन्ने मान्यता राखेको कहिल्यै पाइँन । सबैसित मीठो र नरम बोल्ने, सबैले आफ्नो कर्तव्य गर्नै पर्छ भन्ने धारणा राख्ने, उहाँका कार्यकक्षमा जहिले पुग्दा पनि केही न केही लेखपढ गरिरहने उहाँ, कर्मठ, साधक र सरस्वतीका वरदपुत्र नै हुनुभएको मंैले पाएँ । आफू सिकिस्त बिरामी हुँदा पनि काव्य साधनामा तल्लीन उहाँलाई कसरी यो दुःखद दीर्घ रोगको अवस्था एक्कासि आयो ? भनी यदाकदा म सोध्ने गर्थे । उहाँ पनि राम्ररी त्यो कुरा सुन्नुहुन्थ्यो र निकै सोचेर आखिर जीवन हो, लेखन्त भोग्नैपर्छ, सबै आफ्नो कर्मको फल हो जस्ता दार्शनिक अभिव्यक्ति दिनुहुन्थ्यो । उहाँसित कहिले काहीँ गम्भीर विषयका बातचित पनि हुन्थे । उहाँका कतिपय निर्णय र काम गराइमा मेरा पनि असहमति हुन्थे । तर, संस्थागत र सार्वजनिक हितका लागि उहाँ टसमस पनि हुनुहुन्नथ्यो, निर्णय गर्न र कार्यान्वयनमा निकै कडा भएर उत्रनुहुन्थ्यो । यसरी सादा जीवन, उच्च सोचाइ, निर्णयमा अडिने क्षमता, अध्ययन र साधनामय जीवन बिताउने चाहना भएका, कर्म र भाग्यनिष्ठ, हँसिलो, रसिलो र मजाकी स्वभावका धनी, चिन्तनशील र कर्तव्यपरायण कवि तथा साहित्यकार दैवज्ञराज न्यौपाने आज हाम्रो सामु शरीरले नभए पनि मान्छे कर्मले बाँच्छ भन्ने सदुक्ति अनुसार उहाँको कर्म, अनुकरणीय स्वभाव, निरन्तरको काम गराइ र सादा जीवनका हिसाबले सधैं जीवन्त बनिरहनुभएको अनुभव गरिरहेको छु र गरिरहनेछु ।

अन्तमा उहाँकी जीवनसंगिनी सुधा न्यौपानेसहित सपत्नीक डा.वासुदेव त्रिपाठी, श्री केदार न्यौपाने र मेरी पत्नी सरस्वती (सुमित्रा) पराजुली सहित म समेतले दैवज्ञराज न्यौपानेसित गरेको भारतको गया तीर्थको रमाइलो यात्राका प्रसंगका विभिन्न रोचक र आकर्षक पक्षहरूको सम्झनासाथ उहाँका जोर मुरली, सिर्जनाको लहर आदि काव्यको पाठ गरी त्यसैमा रमाएर उहाँका अनुकरणीय बानीव्यहोराको सदा स्मरण गरिरहनेछु । निकट भविष्यमा उहाँकी धर्मपत्नी श्रीमती सुधा न्यौपानेको सदिच्छा र सक्रियतामा दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानद्वारा प्रकाशित हुने दैवज्ञ स्मृतिग्रन्थमा समेटिएका विभिन्न व्यक्तित्वका अनुभव र अनुभूतिका साथै अन्य साहित्यिक गतिविधिले पनि उहँाका बारेमा विभिन्न थप विवरण प्रस्ट पार्दै जानेछन् र त्यस कार्यमा प्रतिष्ठानलाई सफलता मिल्नेछ भन्ने विश्वास गर्दै प्राध्यापक दैवज्ञराज न्यौपानेप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

सह–प्राध्यापक

बानेश्वर क्याम्पस, शान्तिनगर, काठमाडौँ

२०६९ भदौ २५

मालाई सपना देओ सृष्टि साट्न सकूँ सधैँ

मलाई बिपना देओ राष्ट्र रच्न सकूँ सधैँ

म सङ्गीत स्वयं यौटा म कालाकारको कला

मेरै रङ्ग र रेखाले देश बन्छ पलापला।

दैवज्ञराज न्यौपाने

'म र मेरो देश'