शतश: श्रद्धास्मृति
म अहिले पनि दैवज्ञ सरको कक्षा सम्झन्छु र भरपुर आनन्द लिन्छु– त्यो सुन्दर मुखाकृति, हृष्टपुष्ट शरीर, अग्लो बलियो जिउडाल, मिठो चुड्की, शारीरिक हाउभाउ र काव्यात्मक प्रवचनका साथ कक्षाको लोभलाग्दो रौनकझ् उहँा आफ्नो सिङ्गो शरीरलाई नै काव्य बनाएर कविता पढाउनुहुन्थ्यो र कक्षालाई काव्यमय बनाउनुहुन्थ्यो । प्रस्तुतिमा शालीनता, लयमा कोमलता, वाणीमा मधुरता र अभिव्यक्तिमा पाइने सङ्गीतमयताले गर्दा हामी विषयवस्तुमा भन्दा पनि उहाँको चाल र चुड्कीमा बढी रमाउँथ्यौँ । उहाँको प्रस्तुतिको चामत्कारिक शैलीले विषयवस्तुको गहनतालाई धेरथोर कोट्याउँदै कक्षाको जीवन्तता र विद्यार्थीको एकाग्रतालाई तानिरहेको हुन्थ्यो ।म सधैँ उहाँको मायालु र आत्मीय व्यक्तित्वको प्रशंसक थिएँ ।
एक दर्जनभन्दा बढी कृतिका स्रष्टा, आधादर्जनभन्दा बढीका सम्पादक, आधुनिक नेपाली कविताको समसामयिक धाराका एक सशक्त प्रतिभा, मेरा अत्यन्त आदरणीय दाजुतुल्य गुरु दैवज्ञराज न्यौपाने सुशिक्षित, सुललित, सुभाषी, सुसंस्कृत एवं शालीन व्यक्तित्वका धनी हुनुहुन्थ्यो । उहाँको लेखनीले कविता, कथा, जीवनी, निबन्ध, समालोचना, भूमिका, समीक्षा र सम्पादन आदि जस्ता व्यापक क्षेत्रलाई समेटेको पाइन्छ । उहाँलाई म कोमल भावनाका कवि एवं कुशल सर्जक, इमान्दार समालोचक र श्रद्धालु प्राध्यापकका रूपमा चिन्छु । उहाँले बालकदेखि वृद्धसम्मका लागि कविता लेख्नुभएको छ ।उहाँका तोतेबोली, गाउँखाने कविता, बालसंसार, सबै हाम्रा साथी, घामले ढोका खोल्यो, पोल्टाका गीतहरू जस्ता बालकृतिहरू लोभलाग्दा, घतलाग्दा, अत्यन्त प्रिय र बालसुलभ छन् । सिर्जनाको लहर, जोर मुरली र सम्झनाको धरातलबाट आदि कृतिहरू काव्यप्रेमी किशोरदेखि वृद्धसम्मकै लागि पठनीय एवं मननयोग्य छन् । हुने बिरुवाका चिल्ला पात नामक जीवनी सङ्ग्रह पनि खोजमूलक एवं उपयोगी छ । उहाँका गुणराज उपाध्यायका खण्डकाव्यहरूको मूल्याङ्कन तथा नेपाली नाट्यपरम्परा र भारती खरेलका नाटकहरूजस्ता समालोचना सङ्ग्रहहरू पनि विद्यार्थी, पाठक, खोजकर्ता एवं अध्येताहरूका लागि उपयोगी र सङ्ग्रहणीय छन् ।
२०२० सालदेखि प्रारम्भ भएको उहाँको साहित्यिक व्यक्तित्व पछिल्ला वर्षहरूमा शारीरिक अस्वस्थताका बिचमा पनि सक्रिय रहेको पाइन्छ । सरल भाषा, सुकोमल पदावली, सुललित वाक्य, उच्च भावना र गहन विचारका धनी दैवज्ञराज ज्ञानको साबुनले हृदय सफा गर्न सक्ने नेपाली साहित्यका थोरै विद्वान्हरूमध्ये एक हुनुहुन्थ्यो । आफूले देखेका, जानेका र भोगेका घटनाहरूलाई काव्यात्मक अभिव्यक्तिको मालामा उन्ने र पाठकलाई पहिर्याई उनीहरूको हृदय पगाल्न सक्ने उहाँको क्षमता अत्यन्त अनुकरणीय छ ।
उहाँ अस्वस्थ हुँदा कति साहित्यानुरागीहरू भावविह्वल भएछन् र आरोग्यकामनाका शब्दसुमन अपर्ण गर्न अघि सरेछन् भन्ने कुरा प्रह्लाद पोख्रेलद्वारा सम्पादित दैवज्ञः पद्यध्वनि नामक कृतिले पुष्टि गर्दछ । अनुष्टुप् र शार्दूलविक्रीडित छन्दमा बढी रमाउने दैवज्ञ वास्तवमै आफ्नो शरीरको सम्पूर्ण रक्तकणमा कविता बोकेका लोकप्रिय कवि हुनुहुन्थ्यो । विद्यालय तहका पाठ्यक्रममा उहाँका कविता पढाइनु पनि यसको एउटा प्रमाण हो । देशको राजनीतिप्रति धेरथोर निराशा र असन्तुष्टिका साथ नेपाली माटो, मुटु, राष्ट्रियता र आफ्ना सन्ततिप्रति उहाँको चिन्ता र चासो उच्च किसिमको छ । उहाँमा मानवता र प्रकृतिप्रतिको झुकाव बेजोड देखिन्छ । देशको वर्तमान परिस्थितिलाई उहाँका कविताले च्याप्प समातेको भेटिन्छ । उदाहरणका लागि उहाँका केही काव्यपङ्क्ति हेरौँ ः–
मैले हात समाउँदा रहरले ती हातमै आउँथिन्
मैले गीत खुलाउँदा हृदयको ती गीत भै आउँथिन्
बन्थे इन्द्रिय लठ्ठ त्यो समयमा क्यै मात लागेसरि
के के भावुक कल्पना हृदयमा फुट्थे सयौँ मञ्जरी
(सम्झनाको धरातलबाट, पृष्ठ ३)
आज छैनन् कुनै नेता गणना गर्न लायक
जसले देशको निम्ति दिन्छ बाटो निरन्तर
स्वार्थलिप्सा बढेको छ व्यक्तिमा दलमा पनि
न्यायका निम्तिमा त्यस्तै छैन सन्तोषको ध्वनि
(सम्झनाको धरातलबाट, पृष्ठ ३१)
मलाई स्वर्ग चाहिन्न बने नेपाल पुग्दछ
बिग्रिए घरका मान्छे मलाई दुःख लाग्दछ
त्यसैले भिन्नता हैन सबैमा मेल होस् सदा
अर्को जन्म भए फेरि पाउँ नेपाल सर्वदा ।
(दैवज्ञःपद्यध्वनि, पृष्ठ ११०)
घरमा देवता छैनन् शून्यता छ सबैतिर
उराठ मनमा लाग्छ नियास्रो छ सबैतिर
पालुवा पुष्प लाग्दैनन् फल्दैनन् रसिला फल
जस्तो शून्य खरानी छ उस्तै भीषण बादल ।
(सम्झनाको धरातलबाट, पृष्ठ ६५)
मेरा लागि उहाँ एक सच्चा मार्गदर्शक हुनुहुन्थ्यो । उहाँको असामयिक निधनले कवि लेखक लगायतका विद्वद्वर्ग, पाठक र विद्यार्थी मात्र नभई साधारण जनसमुदायले पनि नेपाली काव्यजगत्को एउटा चम्किलो तारा सदाका लागि विलय भएको अनुभव गरेका छन् । उहाँका कृतिहरूले हरपल हामीलाई उहाँको स्मरण गराइरहने छन् र उहाँको आत्माले अनन्तशान्ति प्राप्त गरिरहने छ । मेरो उहाँप्रति शतशः श्रद्धास्मृति ।
स जातो येन जातेन याति वंश समुन्नतिम् ।
परिवर्तिनि संसारे मृतः को वा नजायते ।।
(यो संसारमा त्यो नै व्यक्ति सही रूपमा जन्मेको ठहर्छ जसको जन्मले उसको वंश, कुलपरम्परा (ख्याति र सुयशले) समुन्नतितर्फ लम्कन्छ । होइन भने यो परिवर्तनशील संसारमा को जन्मदैन ? को मर्दैन ?)