प्रकृतिका कवि : दैवज्ञ दाइ
यो कुरा २०१५ सालको हो । हामी खेतमा काम गर्ने मैलाधैला थियौं । उनीहरू पाठशालामा बस्ने सुकिला थिए । भन्थे – हामी पनि घर जाँदा तिमीहरू जस्तै हौं । बेलुकीपख मन्दिरदेखि दौडँदै टुँडिखेल घुमेर को पहिले आइपुग्ने ? गोठालो मैले पनि भाग लिएँ । अरू बेला सबैलाई म जित्दथें, तर आज दोस्रो भएँ । उमेर मेरै, तर केही अग्लो र गोरो, धेरै राम्रो केटाले जित्यो । हामी पसिनाले निथ्रुक्कै भयौँ । उसले मलाई हेर्यो, मैले पनि उसलाई हेरें, तर हामी बोलेनौं । केही दिनपछि म पनि पढ्न गएँ, तर घरैबाट धाउँथें । म चार कक्षामा भर्ना भएँ, ऊ छ कक्षामा रहेछ । हाट जाँदा आमालाई देखाएँ । आमाले भन्नु भो – त्यो हाम्रो आफन्त नै हो । तैंले दाजु भन्नुपर्छ । म कक्षा फट्कँदै जाँदा उसलाई ८ मा भेटें । बल्ल हामी बोल्यौं । ती रहेछन् दैवज्ञ दाइ ।
हामी संस्कृत पढ्थ्यौं, दिङ्लाको पाठशालामा । दाइलाई सबैले मान गर्थे, भदाद्मी थिए, अरू केटाका माझमा बस्ने । त्यसैले म सीधा बोल्न धकाउँथें । उनी सागको डुकू जस्तै लरक्क परेका थिए, म पाखो बारीको मकैको बोटजस्तो जिख्रिक्क परेको थिएँ । गोठालाको साथी म अलिक ठाडो मिजासको थिएँ । दैवज्ञ र उनका दाइ शम्भु भद्र थिए । मलाई यी दुवै खूब माया गर्थे । एक– उनीहरू भद्र थिए । दुई– म साँच्चै आफन्त रहेछु – भान्दाइ रहेछन् । तीन – पढ्न गएपछि मलाई थाहा भयो कारणवश हेला गरिएका, तर हामी दिङ्लाका गुरुखाल रहेछौं । चार– म क्लास फड्कँदै जाने हुनाले पढ्नेमा गनिदो रहेछु । पाँच– मेरा पिताजी पनि गोगनेका न्यौपानेका भानिज हुनुहुन्थ्यो । तर हाम्रो यो सहवास लामो भएन । गुठीको सम्पत्ति मास्ने ठुलाबडाको नाम दैवज्ञले वडाहाकिमसमक्ष पेस गर्यो भनी उनलाई पिटेछन् । हामी पुग्दा सबै गम्भीर थिए । मैले सोद्धा दाइले भने “ठिकै छ । हामी सायद दिङ्ला छोड्दैछौँ ।” मलाई नराम्रो लाग्यो, तर केही गर्न सकिन ।
काठमाडौंमा पेफरि भेट भयो । दाइ त दाङ पो गएछन् । उत्तरमध्यमा सँगै पढ्यौं । हामी कविता लेख्थ्यौं । मलाई ह्वार्रै आउने, उनलाई सुस्तरी । तर उनी स्थिर थिए, म खहरेजस्तो । प्रतियोगितामा लगेर कविता दिन्थे र पुरस्कार पनि ल्याएर गाली गर्थे । मूर्ख ! तिमी पनि हिँड । म वास्तै गर्दिनथेँ । पुरस्कार देख्दा खुसी चाहिँ लाग्थ्यो । यिनताका हामी एकै कोठामा बस्थ्यौं । त्यसैले औपचारिकता पार गरेर हामी परस्पर “तिमी” मा पुग्यौं । पछि पनि औपचारिकतामा भाउजूका अगाडि मात्र म तपाईं भन्थेँ । पाटन क्याम्पसमा धेरैले मलाई तपाईँ भन्ने सुझाउ दिए । पछिपछि मलाई पनि बानी बस्यो । २०२२ सालमा लेखेको मेरो रावण खण्डकाव्यको पाण्डुलिपि दाइले सुरक्षित राख्नाले नै २०५८ सालमा छपाउन पाएँ ।
दाइकै योजना अनुसार हामी कविहरूलाई भेट्न जान्थ्यौं । सिद्धिचरण दाइभन्दा पनि नरम । समलाई दाइले मबारे सिकायत गर्दा भन्नुभयो पछि आपैँफ ठिक हुन्छन् । कवि माधवप्रसाद घिमिरे र कृष्णप्रसाद पराजुलीसँग दाइ अति समीप हुनुहुन्थ्यो । दाइसितै म पनि चिनिन्थें, तर त्यो परिचयले के गर्छ ? मलाई थाहा थिएन । मभन्दा दाइ बाठो हुनुहुन्थ्यो र अलिक झवाँकी पनि । छात्रवृत्ति पाउनेले जागिर खान पाइन्नथ्यो । म खुकुलो छु भनी मलाई पनि थाहै नदिई केही महिना तथ्याङ्कको ना.सु. हुनुभएछ । जूननाथ गुरुका नामको पुस्तकालयको किताब बेचेर मासु ल्याउनु भएछ । मैले गाली गर्दा अलिकति चाख त कति मिठो छ भन्नुभयो । घरबाट खर्च आएपछि पुस्तक किनेर क्षतिपूर्तिका रूपमा तिर्नुभयो । यसबाट उहाँको खानासम्बन्धी पारख र मसिना कुरामा समेत इमान्दारीको सचेतता थाहा पाउन सकिन्छ ।
एक दिन केमा हो हाम्रो झगडा पर्यो । पैले मैले नै हात छाडेँ, तर पिटाई मैले नै धेरै खाएँ । राममणि रिसाल दाइले छुट्याउनु भयो । हामी दुवै भावुक थियौं । झगडा गरेकोमा पछुताएर रोयौंँ पनि । हाम्रो मित्रता देखेर राममणि दाइ झन् भावुक हुनुभयो । उहाँलाई बुझाउन हामीलाई झन् कठिन पर्यो । त्यसपछि भने हामी बाभेफनौं ।
म खेल्न मन पराउने । दाइ नखेल्ने । “पढौं न” भन्दा भन्नुहुन्थ्यो – मरेर के लानु छ । शरीरलाई कष्ट चाहिँ दिइँदैन । म N.C.C (सैनिक तालिम) मा गएँ । दाइ भन्नुहुन्थ्यो– अभागी मात्रै जाडोमा सुत्न छोडेर दौडिन जान्छन् । कतै घुमेर फिर्दा भन्नुहुन्थ्यो – तिमीलाई कसैले हेरेनन् । हामीजस्तो भए पो हेर्छन् । मेरो यसमा केही जवाफ थिएन, प्रकृतिले नै नदिएको ।
ऋषिराज लुंसाली काठमाडौं आएपछि भने हामी अलिक पर भयौं । ऋषि वामपन्थी थिए र देश बनाउन पढाइ छोडेर जाउँफ भन्थे । “गाउँफर्क” लाई उनी त्यसरी उपयोग गरौं भन्थे । म चट्टै छोडेर ऋषिको पछि लागेँ । मेरा सैनिक तालिमका बूट, पेटी आदि विधिपूर्वक दाइले नबुझाइदिनु भएको भए मलाई जरिवाना हुने थियो । मेरो स्नातकको प्रमाणपत्र लिएर पठाइदिनु भएछ । मैले आश्चर्य मानिन । कारण ? अभिभावक सरह मानेको थिएँ । द्वितीय विवाह नै नगर्न मैले झगडा गरेको थिएँ । तृतीय विवाह गरेको कुरा पछि भन्नुभयो – तिमी मुलाले थाहै पाएनौ । मैले कुनै प्रतिक्रिया गरिन ।
मलाई अद्वैत संस्थाले विराटनगरमा शाखा खोल्ने जिम्मा दियो । यो धार्मिक संस्थालाई कसैले मानेन । त्यहाँ भारतबाट आउने वैष्णव अधिक रहेछन् । पछि दैवज्ञ दाइको सहायताले पं.खगेश्वर न्यौपानेलाई समातेर बल्ल शाखा खुल्यो । मैले भनेँ – दाइ तपाईँ पनि संस्थाको सदस्य बन्नुहोस् । जवाफ दिनुभयो – तिमी भाइ, म दाइ । त्यहाँ आए म कान्छो हुन्छु । बरु भन अझ के सहयोग गरौं ?
२०३६ मा उहाँ सहायक क्याम्पस चिफ हुनुहुन्थ्यो । मित्र केशव खतिवडाका लागि दरबन्दी लुकाइकन मानिस भोजपुर पठाएर झिकाई नियुक्ति दिलाउनु भयो । नन्दीश अधिकारीलाई पैले पुस्तकालयमा र पछि क्याम्पस चिफ भएपछि आफ्नै दरबन्दीको सिटमा प्रशिक्षक बनाउनुभयो । जब प्रशासनबाट उहाँ फिर्नु भयो तब नन्दीशको काम जाने भो भनी आपूफ सरुवा भई अर्कोतर्पफ गएर पनि नन्दीशलाई जोगाउनु भयो । “नन्दीशको बाटो देब्रे, दाइको दाहिने” भनी मैले एकदिन व्यङ्ग्य गर्दा भन्नुभयो म मान्छे हुँ । हात हुने मान्छेको हात पो हुन्छ, दाहिने र देब्रे हुन्छ र ? यस्ता उदारता धेरै छन् ।
नाउँ पनि दैवज्ञ, दैवको मार पनि उनैमा । नराम्रो रोगले आघात गरेपछि म पनि जान पाइन । सम्पर्क कम भयो । एकदिन करिब ५ घण्टा सँगै बस्यौं । बोली लट्टिएको । कठिनले बुझथेँ । पीर पर्ला भनेर मार्मिक अतीत भरसक टारेँ । हँसिला गफ गर्यौँ । त्यस्तो हीरो दाइको यो गति । म भित्रभित्रै रसाउँथें । दाइले कति लेखे, कति पुरस्कार पाए, कति कृति छन्, मलाई राम्ररी थाहा पनि छैन । दाइलाई छापिएको मेरो खण्डकाव्य “रावण” अर्पण गर्दा भन्नुहुन्थ्यो – तिमीलाई नै पढेको छु के तिम्रो कृति पढ्नु ? पहिले पहिले हामी एक्लै हुँदा कवितामै कुरा गर्थ्यौं । यसपालि भने बोल्नै कठिन । दाइ कठिनले लेख्नुहुन्थ्यो । त्यो पनि नबुझिने । मैले हेरेँ एकै हरफ बारम्बार दोहोरिएको ।
आज दैवज्ञ दाइ स्थूलरूपमा देखिनुहुन्न, तर मलाई लाग्छ उहाँ कतै प्रकृतिको काखमा कविता गुन्गुनाउँदै हुनुहुन्छ । हाम्रो आध्यात्मिक विश्वास अहिले पनि सल्लेरीमा उहाँको सुसेली सुन्दैछ । प्रकृतिका कविलाई प्रकृतिमा बाँचिरहेका आँखा हुनेहरू देख्न सक्छन् । यत्ति ।
२०६९ असार २३
कौशलटार, भक्तपुर