साहित्यकार दैवज्ञ : मेरो स्मरणमा
अहिले मेरो मनमा आइरहेको छ साहित्यकार दैवज्ञराज न्यौपानेको उज्ज्वल मुहार, फुर्तिलो शरीर र स्नेहिल मुस्कान । वास्तवमा उहाँ अहिले हामीँसग हुनुहुन्न । त्यसो भए पनि त्यो दिव्याकृति झलझली यादमा आइरहेको छ, आइरहेको छ । त्यस्तो भव्य व्यक्तित्वको कसरी अवसान भयो र कहाँ गयो अनि कसरी नाश भयो आदि कुराहरू हाम्रा मनमा आइरहन्छन् । हामी आत्तिन्छौं यस्तो हुँदा । तर सत्य कुरा यही हो । न आत्तिएर हुन्छ न रोएर वा कराएर । यो तीतो सत्य हो । सबैको गति यही हो र सबैले शरीर त्याग्नै पर्दछ एक पटक । श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले भन्नुभएको छ जसको जन्म हुन्छ उसको मृत्यु हुन्छ हुन्छ, यो निश्चित छ । मृत्युपश्चात् पुनर्जीवन पनि निश्चितै छ । यसरी हेरेमा हामीले शोक नगरे पनि हुने हो । तर शोकमा डुब्ने गर्दछौं । दैवज्ञको मृत्युले पनि धेरैलाई शोकमा डुबाएकै हो । म पनि झसक्क झस्केको हुँ अर्थात् शोकमा डुबेको हुँ । त्यति बेलै मनमा अर्को कुरा आयो कुन रूप तथा कस्तो शरीरमा होला त उनको पुनर्जन्म । यसको जवाफ मसँग हुने कुरै भएन । अन्दाजसम्म पनि गर्न सकिएन । जे होस् अब सोच्नै पर्ने भएको छ उहाँको मृत्यु भयो र जन्म पनि पक्कै भयो । यो चित्त बुझाउने बाटो पनि हो ।
कहिले काहीं साहित्यकार दैवज्ञको पुनर्जन्म कहाँ कस्तो भयो होला भन्ने तर्कना आउँछन् मनमा । यस्तो भएपछि मेरो मनमा उही गीता आउने गर्दछ । गीता भन्छ मान्छेको पुनर्जन्म उसैको कर्म अनुसार हुन्छ । यसबाट हामी भन्न सक्छौं जहाँ जहिले भए पनि दैवज्ञजीको जन्म कवि समुदायमै हुन्छ । कुशल साहित्यकार भएर जन्मन्छन् अथवा जन्मेका छन् उनी । त्यसैले भन्न मन लाग्छ उनी नेपालमै जन्मून् र आउँदो जन्ममा पनि सफल साहित्यकार नै होऊन् । “जिन्दगानी” जस्ता सुकविता तथा जोर मुरली जस्ता कृति लेख्न र प्रकाश गर्न पाऊन् । समाज लाभान्वित हुन पाओस् ।
साहित्यकार दैवज्ञराजले सिंगो जीवन अध्ययन र अध्यापनमा खर्चेका हुन् । उनले यसबाट निकाल्न सकेको केही समय साहित्य र समाज सेवामा लगाएका हुन् । त्यसैले यी आफ्नो क्षेत्रमा उत्तम ठहरिएका व्यक्तित्व पनि हुन् । यिनले समाजमा उच्च स्थान बनाएका र त्यसकै फलस्वरूप धेरै धेरै मान सम्मान पाएका पनि हुन् । साहित्यमा यिनको क्षेत्र भनेको कविता, काव्य र समालोचना जस्ता विषय हुन् । यसमा उनको स्थान उच्च भएको पाइएको छ । यिनले एक दर्जन पुस्तक प्रकाशनमा ल्याएका छन् । यस्ता होनहार व्यक्तित्वलाई कालले सुटुक्क आएर लिएर गयो । रोजेरै लगेको जस्तो लागेको छ हामीलाई । सायद त्यहाँ पनि यस्तै व्यक्तित्वको खाँचो हुँदो हो, लग्यो भनेर चित्त बुझाउनु परेको छ ।
कवि दैवज्ञराजसँग मेरो पहिलो भेट वा चिनाजानी कहिले भयो अहिले म भन्न सक्दिन । यति भने अवश्य भन्दछु मैले उहाँलाई सफल तथा मीठा कविता लेख्ने सुकवि भनेरै चिनेको हुँ । हामी दुवै जनाको बानेश्वरमा बसोबास भएको र दुवै न्यौपानेका सन्तान भएका, दैवज्ञजी उच्च साहित्यकार र म साहित्यमा रुचि राख्ने व्यक्ति भएको नाताले पनि हामी नजिकियौं । चिनजानपछिका संस्मरण धेरै छन् । सबैभन्दा महत्त्वपूर्ण मेरो खण्डकाव्य विद्रोह नै हो । अझ स्पष्ट पारौं त्यसमा भएको भूमिका वा मन्तव्य नै हो । विद्रोह खण्डकाव्य प्रकाशनमा ल्याउनुभन्दा अगाडि मेरो बानी कस्तो थियो भने केही लेख्न रुचाउने तर त्यस्ता कविता वा काव्यको आफँै मूल्याङ्कन गर्न नसक्ने । लेख्दै, राख्दै र फाल्दै पनि गर्ने । यही अवस्थामा विद्रोह रहेको थियो । दैवज्ञजीसँग चिनाजानी भयो । त्यसपछि मैले एक दिन आफ्ना कुरा राखेँ । उहाँले भन्नुभयो “हुन्छ दाइ ! म हेर्छु ।” दैवज्ञजीले मलाई नाम लिएर प्रायः सम्बोधन गर्नु भएन । म अग्रज त हुँ । तर दाइ स्वीकार गर्न सक्दैनथेँ । त्यसैले भाइ सायद भनिनँ । उहाँप्रति स्नेह तथा सम्मानका साथ नै व्यवहार गर्ने गरेँ । यसै गरी लामो समय बितेको हो जस्तो लाग्छ । दैवज्ञजीका स्नेहालु र व्यावहारिक कुरा मेरो मनमस्तिष्कमा टाँस्सिएरै बसेका छन् अहिलेसम्म पनि ।
मैले विद्रोहको पाण्डुलिपि दैवज्ञजीलाई दिँदा भनेको थिएँ “कृपया यो पाण्डुलिपि आद्योपान्त पढिदिनुहोस् । प्रकाशन योग्य देखिए भूमिका समेत लेखेर फिर्ता दिनुहोस् । प्रकाशनयोग्य देखिएन भने निसंकोच मलाई भनिदिनुहोस् । यसभित्रका कुनै सर्ग वा पद्य झिक्न वा सच्याउन मनासिव जँचे त्यो पनि गरिदिनुहोस् ।” यसरी मैले धर्म सौंपेपछि उहाँले त्यसै गर्नुभयो सायद । एक दिन मलाई भन्नुभयो, “दाइ ! मैले देवेन्द्रलाई लट्ठीले सोट्ठ्याएँ ।” मैले बुझें उहाँले त्यो प्रसङ्गसम्म पढ्नुभएछ । खुसी प्रकट गरें । दुवै जना एक छिन हास्यौँ । अनि उहाँले नै भन्नुभयो “ दाइ ! त्यो जोर्ते भट्टीको कुरा त नराखौं जस्तो लाग्यो ।” मैले बुझेँ र हुन्छ भनेँ । हाम्राबिच लामै कुरा भए । त्यो सर्ग शृंगार रसमा डुबेको नै थियो । मैले त्यो सर्ग वास्तवमा तन्नेरी तरुनीलाई रमाइलो होस् भन्ने ठानेर रचना गरेको थिएँ । तसर्थ त्यो कडा नै थियो । त्यो हटाउन म सहमत भएपछि उहाँले भन्नुभएको थियो “साहित्य यस्तो हुनुपर्दछ जो जहाँ जस्तो अवस्थामा पनि र जोजोसँग बसेर वाचन गर्दा वा चर्चा गर्दा संकोच नलागोस् । शृंगारयुक्त साहित्य पनि आफ्ना माता पिता, सासू ससुरा छोरा छोरी सबका बिच पनि सुहाउँदो र पाच्य होओस् ।” यस्तो महान् विचार पोख्नुभयो दैवज्ञजीले । अनि विद्रोहबाट त्यो भाग वा सर्ग निकालेर फालियो । न फालेको भए पछि वाचन गर्न म आफँै हिच्किचाउने थिएँ । दैवज्ञजीले जोगाउनु भएकै मान्ने गरेको छु मैले । त्यसैले म आजीवन उहाँको ऋणी भएको अनुभव गर्दै छु ।
सुश्री सुधा कोइराला र म केही समय आपूर्ति मन्त्रालयमा सँगै कार्यरत थियौँ । त्यसैले उहाँ र म दाजु बहिनी जस्तै भएका थियौँ । पछि सुधा र दैवज्ञको वैवाहिक सम्बन्ध हुनगयो । त्यसपछि मैले दैवज्ञजीसँग भने “अब त तपाईँ भाइ हुनु भएन, जुवाइँ हुनुभयो । मुसुक्क हाँसेर उहाँले भन्नुभयो “जे भए पनि तपाईँ त दाइ नै हुनुभयो नि । किनभने अचेल श्रीमतीको दाइलाई पनि दाइ नै भन्ने चलन छ ।” त्यति बेला सुधाजी पनि सँगै हुनुहुन्थ्यो । त्यसैले मैले सुधाजीतिर हेरेर भनेँ “ तपाईँ बुहारी हुनुभयो ।” एक हल्को हाँसियो । एक पटक गण्डकी सामाजिक गुठीबाट लमजुङ्मा पुस्तक दान गर्न जाँदा दैवज्ञजी पनि हामीसँगै हुनुभयो । उहाँको भद्र स्वभावको अनुभव मैले त्यस भ्रमणमा गरेको हुँ अझ बढी ।
दैवज्ञजीले असमयमै मृत्यु वरण गर्नुभयो । कालले टपक्क टिपेर लग्यो । कसैले पर्खाउन सकेन र नलैजा भन्न सकिएन । गीता अनुसार त पुराना लुगा फालेर नयाँ लगाउनु भएको होला । चोला बदल्नु भएको होला, जे भए पनि अव हामीसँग उहाँका सम्झनाहरू मात्र छन् । ती सम्झनामा रहेका हुनसक्छन् हाम्रा संस्मरणहरू । जो यो स्मृतिग्रन्थबाट हामी प्रस्तुत गर्दै छौँ । यस्ता अझै धेरै हुन सक्छन् । उहाँका अप्रकाशित कविताकृतिहरू पनि होलान् । ती खोजीखोजी प्रकाशन गर्न पाए फाइदा हामीलाई नै हुने हो । त्यतातिर लाग्न पर्ने भएको छ । किनभने यस्तो कार्यले स्रष्टालाई लामो जीवन जिउन मद्दत गर्दछ । त्यसै कारण अहिले एउटा स्मृतिग्रन्थ प्रकाशन गर्नमा उहाँका आफन्त लागेको देख्दा खुसी लागेको छ । अन्त्यमा नेपालका वरिष्ठ साहित्यकार कवि, धेरै विद्यार्थीका गुरु दैवज्ञराज न्यौपानेमा हार्दिक श्रद्धाञ्जली चढाउँछु ।