केही शब्द : श्रद्धाञ्जलिका
म अहिले कवि दैवज्ञराज न्यौपानको स्मृतिमा घोत्लिइरहेकी छु । उहाँलाई सम्झना गर्दा बहुमुखी प्रतिभाका धनी नेपालको शैक्षिक, सामाजिक र साहित्यिक क्षेत्रमा अत्यन्तै लगनशील सम्झनलायक व्यक्तित्वको रूपमा परिचित हुनुहुन्थ्यो । म एक प्रकारको सामाजिक कार्यकर्ता भएको नाताले उहाँसँग मेरो धेरै अघिदेखिको सामाजिक क्षेत्रमा सम्बन्ध रहिआएको छ । म ज्ञानेश्वरबाट २०३५ सालतिर शान्तिनगरमा बसोबास गर्दै आएको र उहाँ पनि बानेश्वरमा नै बसोवास गर्दै आएकाले पनि हामी दुवैको सामाजिक कार्यक्षेत्र बानेश्वरमा नै रहन पुग्यो ।
यो एउटा ईश्वरीय संयोग नै होला, हामी धेरै सामिाजक संघसस्थाहरूमा आबद्ध भएर कार्य गर्ने गर्दथ्यौँ । चाहे सामुदायिक सेवाको संस्थामा होस्, चाहे शैक्षिक संस्थाहरूमा होस्, चाहे म आफैँले स्थापना गरेको संस्थाहरूमा होस् वा व्यक्ति–व्यक्तिहरूका प्रतिष्ठान वा अन्य शैक्षिक सामाजिक संस्था र गैरसरकारी संस्थाहरूलाई अगाडि बढाउने कार्यमा उहाँ निरन्तर प्रयासरत रहिरहनुहुन्थ्यो । उहाँको भद्रपन, सौम्य व्यवहार र उच्च विचारले हामी सामाजिक क्षेत्रमा काम गर्ने सबै साथी भाइहरूलाई सधँै प्रेरणा र ऊर्जा प्राप्त हुने गर्दथ्यो । उहाँ एक कुशल कवि र सम्मानित साहित्यकार हुनुभएको हुनाले पनि होला उहाँले भावुक भएर पढाउँदा विद्यार्थीहरूको ध्यान खिच्न सफल हुनुहुन्थ्यो भन्ने कुरा विद्यार्थीहरूबाट पनि सुन्न पाइएको छ । उहाँको विद्वत्ता र शालीन व्यक्तित्वबाट हामी सामाजिक कार्यकर्ताहरू निकै प्रभावित भएका थियौँ । उहाँमा स–साना बालबालिकादेखि ठुला ठुला व्यक्तिहरूसँग सौहार्दता कायम राख्न सक्ने उच्च प्रकारको क्षमता थियो । उहाँले सबैलाई माया र आदर गर्ने गर्नुहुन्थ्यो ।
म आफँैले स्थापना गरेका संस्थाहरूमा उहाँलाई आमन्त्रण गरी उच्च स्थानमा राखेर सधैँ एउटा अभिभावकको सम्मान दर्शाउँदै उहाँको सर–सल्लाहमा संस्थालाई अगाडि बढाउने गरेका धेरै स्मरणहरू अहिले पनि मेरो मनमष्तिष्कमा ताजै छन् ।
उहाँको अभावले देशलाई एउटा होनहार विद्वान् साहित्यकार र सामाजिक व्यक्तित्व गुमाएको अनुभव भै रहेको छ भने हामी समाजमा रहेर काम गर्ने सामाजिक कार्यकर्ताहरूले सामाजिक कार्यक्षेत्रमा एक अभिभावक नै गुमाएको महसुस भएको छ । म उहाँलाई श्रद्धाको फूल चढाएर उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु ।
२०६९ असार,
काठमाडौँ